
काठमाडौं, चैत १ :
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई नियुक्त गरेका हुन् । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसकेकी छन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेकी छन् ।
यसअघि भरतपुर अस्पतालको रजिस्ट्रार भइसेकी पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनका ‘नेपालमा प्रजनन तथा महिला स्वास्थ्यका विविध आयाम’बारे अनुसन्धानात्मक लेख प्रकाशन भएका छन् ।