नयाँदिल्ली, चैत ५ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाई पोपसोईसँग भेटवार्ता गरेकी छन् ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज (मंगलबार) भेटवार्ता भएको देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा नेपाल-मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. देउवाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

देउवाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहयाताबारे पनि जानकारी दिएकी थिइन् । साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌को सदस्यलगायतमा दिएको उम्मेदवारीबारे जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् ।

परराष्ट्रमन्त्री देउवाले यसै साता हुन लागेको विदेशमन्त्री मिहाई पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन् ।

यो पनि…

युक्रेनका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट, ७ नेपाली मुक्त गर्न माग

परराष्ट्रमन्त्री र ट्रम्पका सुरक्षा निर्देशकबीच वार्ता, विपिन रिहाको पहल गरिदिन आग्रह