
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको विवादास्पद अभिव्यक्तिलाई लिएर पार्टीभित्रै असन्तोष देखिएको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल भएको थियो।
बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा महामन्त्री गगन थापा, प्रकाशशरण महतलगायत नेताहरूले घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। बैठकमा घिमिरेलाई बोलाएर उनको धारणा स्पष्टिकरण मागिएको थियो। अधिकांश पदाधिकारी घिमिरेको अभिव्यक्तिप्रति असन्तुष्ट थिए।
त्यस्तै, कांग्रेसका महिला सांसदहरू ईश्वरी न्यौपाने, सीता गुरुङलगायतले पनि सभापति देउवासँग भेट गरी प्रमुख सचेतकबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनीहरूले पार्टीलाई नै लज्जित बनाउने किसिमको अभिव्यक्ति आएको भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए।
पदाधिकारी बैठकमा उठेको असन्तोषपछि बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमै प्रमुख सचेतक घिमिरेलाई माफी माग्न लगाउने निर्णय भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा घिमिरेले नेपालको आर्थिक विकासका लागि यौन व्यवसाय र गाजालाई वैधानिकता दिनुपर्ने धारणा राखेका थिए। उनको भनाइप्रति सोमबार प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए ।