काठमाडौं, चैत ६ :

नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई-मधेश जागरण’ अभियान बिहीबारबाट पुनः सुरु गर्दैछ। 

अभियानको सुरुवात बाराबाट हुने बताइएको छ । जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू उपस्थित हुनेछन्। झापाबाट सुरु भएको अभियान फागुन २४ गते रौतहटमा आएपछि अचानक स्थगित गरिएको थियो ।

अब माओवादीले अभियानको ढाँचामा केही परिवर्तन ल्याएको छ। यसअघि, दाहालले बिहानदेखि घरदैलो र सभामा समय व्यतित गर्थे, भने अब कार्यक्रमको ढाँचा अन्तरक्रियामूलक हुने छ, जसमा नेताहरू जनतासँग प्रत्यक्ष संवाद र भेटघाटमा केन्द्रित हुनेछन्। 

अभियानको अर्को चरणमा बारा र पर्सा सकेर माओवादी चितवन जाने तयारीमा छ। अभियान केही दिन रोकी, दाहाल र अन्य नेताहरू काठमाडौं फर्केर संसद र अन्य केन्द्रीय कार्यहरूमा संलग्न हुनेछन्।

समाजवादी मोर्चाले चैत १५ मा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । राजावादी प्रदर्शनको कारण आन्दोलन रोकिएको भए पनि माओवादीका नेताहरूले स्थगनको मुख्य कारणमा संसदमा प्रतिपक्षको भूमिका बढाउने, स्ववियु निर्वाचनमा केन्द्रित हुने र संघीयता र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न रोकेको बताएका छन्।