भक्तपुर, चैत ७ :

आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष- २०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । 

भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित चार नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । 

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले होटल व्यवसायीले भ्रमण वर्ष सुरु भएदेखि वर्षदिनभरि नै आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेको बताए ।

उनले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने, एक पटक आएर गएका पर्यटक फेरि आउने र खुसी भएर जाने गरी व्यवस्था र व्यवहार गर्न होटल एवं पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए ।

चाँगुनारायण नगरपालिकासँगै मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले संयुक्त रूपमा भ्रमण वर्षको आयोजना गर्न लागेका छन् । 

होटल व्यवसायीदेखि स्थानीयवासीलाइ भ्रमण वर्ष सफल पार्न आ–आफ्नो घर, टोल, छिमेकमा सफाइदेखि पर्यटकको स्वागतका लागि लाग्न आग्रह गरिएको छ । स्थानीय तहले पनि आवश्यक तयारीसहित पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

भ्रमण वर्षलाई लक्षित गरी नगरकोट आउने नगरकोट कमलविनायक सडक खण्डको कालोपत्र गर्न ‘टेन्डर’ आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । 

मण्डन देउपुर नगरपालिका प्रमुख टोपबहादुर वाइबाले नगरकोट चारवटै पालिकाको सङ्मगस्थल भएको बताउँदै भ्रमण वर्षलाई सफल पार्न चारवटै नगरपालिकाले पहल गर्ने बताए ।