
काठमाडौँको पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेद्वार भुपेश्वरी (भुपी) ऐरको प्यानल विजयी भएको छ ।
नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी ऐर नेतृत्वको विद्रोही प्यानल विजयी भएको हो ।
नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गतेका लागि सरेको थियो ।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् ।
यसैगरी सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भए । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्षमा चाँदनी शाहले ४०५ मत ल्याए ।
सदस्यहरुमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटुवाल विजयी भएका छन् ।