फागुन ७ :

काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्युको घटनाको अनुसन्धानको माग गर्दै काठमाडौँमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विभिन्न विद्यार्थी संगठनले माइतीघरलगायत सहरका विभिन्न स्थानमा प्लेकार्डसहित मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरुले लम्सालको न्याय माग गर्दै नेपाल र नेपाली विद्यार्थीविरुद्ध व्यक्त अभिव्यक्तिको पनि कडा शब्दमा निन्दा गरेका छन् । साथै उनीहरुले लम्सालको न्यायका लागि बृहत् हस्ताक्षर अभियान संकलन गर्दै आत्माको चिरशान्तिको कामना गर्दै मौन धारणसमेत गरेका थिए । केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन् ।

उता, विराटनगरमा पनि लम्सालको संकास्पद निधन र नेपाली विद्यार्थीप्रति गरिएको घटनाको विषयलाई लिएर प्रदर्शन भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार बिहान रोडशेष चोकमा लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित  विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले घटनामा दोषी भएकाहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलले लम्सालको घटनासँगै नेपाली विद्यार्थीलाई कलेजबाट निकालिएकामा आपत्ति जनाए । आजै दिउँसो जिल्ला प्रशासन कार्यालयमार्फत घटनामा संलग्नलाई कारबाही र छानबिनको मागसहित प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र लाजिम्पाटस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको छ ।

हेर्नुहोस् भिडियो :