
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ओडिसा घटना समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाप्रति चासो प्रकट गर्दै मन्त्रालयले समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको हो ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरे अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने जनाएको छ ।
केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको गत आइतबार रहस्यमय भएको मृत्युको छानबिन गर्न माग गरेका नेपाली विद्यार्थीहरूप्रति कलेजका कर्मचारीहरूले ज्यादती गरेका थिए ।
विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत अध्ययन रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।