फागुन २२ :

बुटवल । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम क्षणसम्म प्राधिकरणको काममा लागिरहने बताएका छन् ।

लुम्बिनी प्रदेशका सडक बत्तीको महसुल भुक्तानी गर्ने पालिकाहरूलाई बुधबार बुटवलमा प्रशंसापत्र वितरण कार्यक्रममा घिसिङले स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै अन्तिम क्षणसम्म राष्ट्रका लागि काम गर्ने बताए ।

आफूले ५/६ वटा स्पष्टीकरणको जवाफ दिइसकेको पनि उनले बताए । कार्यसम्पादन मूल्याङ्‍कनमा शून्य पाएको विषयमा उनले भने, ‘मलाई शून्य दिए पनि सय दिए पनि त्यसले केही फरक पर्दैन ।’

मन्त्रालयले पछिल्लोपटक पठाएको पत्रको जवाफमा कुलमानले ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेका थिए ।

उनले आफू प्राधिकरणमा आएपछि लोडसेडिङ अन्त्य गरेको, विकट गाउँमा करिब ९९ प्रतिशत स्थानमा चौबीसै घण्टा बत्ती पुगेको बताए ।

ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई असहयोग गरेको संसद बैठकमै बताइसकेका छन् । उनको यो भनाइले पनि पटकपटक स्पष्टीकरण सोध्नु हटाउने मेसो हो भनेर प्रस्टसँग जो कोहीले पनि बुझ्न सक्छन् ।

ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणबाट हटाउन कार्यसम्पदान पनि कमजोर देखाउन शून्य अंक दिएको छ । चरम लोडसेडिङबाट मुक्त गरेका कुलमानलाई कार्यसम्पादनमा शून्य दिएको धेरैलाई पनि मन परेको छैन ।