काठमाडौं, चैत ११ :

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र  नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए। रैती दुनियाँबाट सार्वभौम नागरिक भएको प्रसङ्ग उल्लेख गर्दै पौडेलले शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको पनि बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको जनाउँदै उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताए ।

शासन व्यवस्थालाई सुदृढ बनाएर यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने कुरा सरकार र राजनीतिक दलहरुले महशुस गराउनुपर्ने समेत बताए ।

उनले टिम्बुरबोटेको घटनाको पनि स्मरण गरे । नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो। टिम्बुरबोटे २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो।