काठमाडौं, चैत ११ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएकोप्रति आपत्ति जनाएका छन् ।

मन्त्रिपरिषद्‌को सोमबार साँझ बसेको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको समाचार सञ्चारमाध्यममा आएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका हुन् । उनले कथित दुईतिहाइ बहुमतको दम्भमा गरिएको निर्णयप्रति निन्दा गरेको जनाएका छन् ।

‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रीपरिषद्  बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ,’ सामाजिक सञ्जालमा अध्यक्ष दाहालले लेखेका छन्, ‘आशा गरौं यो खबर असत्य साबित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ । कथित दुईतिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

यो पनि…
सरकारले प्राधिकरणबाट कुलमान घिसिङलाई हटायो
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त