
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी बनाएर समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।
कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिसँगको भेटमा उनले समस्या समाधानका लागि सहमतिमा जानुपर्ने जनाए । ‘कबाड व्यवसायीका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरुरी छ,’ उनले भने, ‘संकलन गर्ने मजदुर तथा व्यवसायीलाई दु:ख दिएर समस्या हल हुँदैन ।’
भेटका क्रममा अध्यक्ष दाहालले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्नेसमेत जनाए ।
कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष दाहाललाई पहल गरिदिन आग्रह पनि गरे ।