काठमाडौं, चैत १२ :

कालीमाटीमा भित्रिएका तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार १४ प्रकारका तरकारीको नमुना परीक्षण गरेकामा भक्तपुरबाट आएको ब्रोकाउलीमा अगार्नोफस्फेट नामक विषादीको रोकावट दर ८८.६७० प्रतिशत रहेको पाइएको छ । समितिका अनुसार बाँकी ब्रोकाउली प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

समितिले चैतको १ देखि ११ गतेसम्म १३० वटा तरकारीका नमुनाको परीक्षण गरेकोमा सात वटा खान नहुने विषादीको प्रयोग भएको जनाएको छ । केही दिन पर्खेर मात्रै खान हुने विषादीको मात्रा नौ वटामा देखिएको र धेरै जसो गोलभेँडा छन् । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

विषादी छर्केपछि वेटिङ पिरियड (पर्खनुपर्ने अनिवार्य निश्चित समय) नपर्खेर बारीबाट सोझै बजारमा साग लगिएकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिइन् ।