काठमाडौं, चैत १२ :

प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङको बर्खास्तीलाई केही व्यक्तिहरूले तिललाई पहाड बनाएको आरोप लगाएका छन्।

पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’ आत्मकथाको बालुवाटारमा  विमोचन कार्यक्रममा उनले साना विषयलाई ठुलो बनाउँदै हल्ला मच्चाउने काम भइरहेको बताए ।  केहीले इस्यु पाइयो भन्दै डोरीलाई नाल बनाउन लागिरहेको ओलीको भनाइ थियो।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरूवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन? भन्दै ओलीले प्रचण्डको कार्यकालमा हितेन्द्रदेव शाक्यलाई हटाएको कुरा स्मरण गराए

उनले पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिए।

प्रधानमन्त्री ओलीले पूर्वराजा शाहप्रति लक्ष्य गर्दै  एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तनमा अबको युग जान नसक्ने जिकिर गरे।