
तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ ।
पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोच सहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो ।
विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले ५० हजार बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ । अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो । जसअनुसार रेडबुल लगायत आल्मुनियम प्रतिकेजी ५०, फलाम प्रतिकेजी २८, टिन २०, पानीको बोतल तथा अन्य बोतल २०, कपडा चार रुपैयाँ ५० पैसा, कपी १५, किताब १४ रुपैयाँ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।