काठमाडौै, साउन २४ :

साउन कृष्ण चतुर्दशीका दिन मनाइने ‘गठेमङ्गल’ पर्वलाई घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। गठेमङ्गल एक दिनको पर्व मात्र होइन, काठमाडौं उपत्यकाको चाडपर्वको ढोका खोल्ने मौलिक सांस्कृतिक पर्व पनि हो। यही दिनदेखि काठमाडौं उपत्यकामा चाडपर्व र जात्राको मौसम सुरु भएको मानिन्छ।

गठेमङ्गललाई नराम्रो शक्ति तथा भूतप्रेत पन्छाउने पर्वका रूपमा पनि लिइन्छ। गठेमङ्गल मनाउने परम्परा निकै पुरानो हो। यो पर्व १४औँ शताब्दीदेखि मनाउन थालिएको मानिन्छ।

नेवार समुदायमा गठेमङ्गलका दिन बिहानै नर्कट र गहुँको छ्वालीबाट लिङ्गाकृत तीनखुट्टे गथाँमुगः बनाइन्छ। त्यसलाई दोबाटो, चौबाटो, चोक तथा टोलका प्रमुख स्थानमा ठड्याएर दिनभर पूजा तथा विभिन्न परम्परागत गतिविधि गरिन्छ। भक्तपुरमा दत्तात्रय, पाँचतले मन्दिर आसपासका सडक तथा चोकहरूमा आज पनि यस्तो दृश्य देख्न सकिन्छ।  केटाहरूले 'घण्टाकर्णको जगातले भन्दै बटुवाहरूसँग जगात अर्थात् कर पैसा माग्ने परम्परा छ । यसरी उठाइएको रकम वा सामग्रीलाई पर्वकै सांस्कृतिक परम्पराको एउटा हिस्सा मानिन्छ।

गठेमङ्गलका दिन फलामका औँठी लगाउने चलन पनि छ। महिलाहरू हातमा मेहन्दी अर्थात् लैंचा लगाउँछन्। बालबालिकाले आफ्ना खेलौना पुतली तथा औँठीलाई गथाँमुगःमा छुवाएर घर लैजाने गर्छन्। कतिपयले भने पुतली वा औँठी गथाँमुगःमै झुन्ड्याएर राख्ने गर्छन्। फलाम, पित्तल र तामाका औँठीलाई गथाँमुगःमा छुवाएर लगाउने परम्परा पनि विभिन्न टोलमा अझै कायम छ।

गठेमङ्गललाई नराम्रो शक्ति तथा भूतप्रेत पन्छाउने पर्वका रूपमा पनि लिइन्छ।  विशेषगरी भक्तपुरमा काठमा डोरी बाटेर गथाँमुगःको अघिल्लो भागमा लिङ्गको आकृति बनाउने परम्परा छ। यसर्थ यो पर्वसँग अश्लील शब्द तथा हाउभाउ जोडिएको परम्परा पनि छ। यसको पछाडि खराब शक्ति र नकारात्मकता हटाउने सांस्कृतिक मान्यता रहेको संस्कृतिविद्हरू बताउँछन्।

साँझ परेपछि गथाँमुगःलाई जलाउने गरिन्छ। कतिपय ठाउँमा यसलाई नजिकैको नदी वा खोलामा लगेर विसर्जन गर्ने चलन छ। सूर्यास्तपछि छ्वालीको चिराग बोकेको व्यक्तिले गथाँमुगःलाई तीनपटक परिक्रमा गरेपछि त्यसलाई ढालिन्छ र नदी वा खोलातर्फ लगेर विसर्जन गरिन्छ। विसर्जन गरेर फर्कँदा बाटोभरि ‘ओम शान्ति, जय नेपाल’ भन्दै नारा लगाउने परम्परा पनि कतिपय ठाउँमा छ।

पुरानो परम्पराअनुसार गथाँमुगःमा आगो राख्ने व्यक्तिलाई रंगीबिरंगी चित्रले सजाएर खाली दहीको कटौरा हातमा दिइन्थ्यो। उनले ‘आजाज्यू जय’ भन्ने र सँगै रहेका मानिसले ‘हा’ भन्दै घरघरमा जगात माग्ने चलन थियो। त्यसपछि उनलाई गथाँमुगः ठड्याइएको ठाउँमै दही–चिउरा खुवाइन्थ्यो।

गथाँमुगः विसर्जनपछि घरमा पनि नकारात्मक शक्ति पन्छाउने विशेष विधि गरिन्छ। माटोको पालामा चिउराको ढुटो, कट अर्थात् जाँडको छोक्रा वा सिठी, राँगाको फोक्सोका टुक्रा, रगत, लसुन, छापी तथा एउटा सिंगै काँचो अकान्छोण्डा राखिन्छ। त्यसलाई विभिन्न फूलले सजाएर घरमा राखी भूतप्रेत पन्छाउने विश्वास गरिन्छ।

बौ राख्नुअघि परिवारका सदस्यहरू त्यसलाई बीचमा राखेर चारैतिर बस्छन्। लसुन, छापीसहित समेबजी खाने परम्परा पनि यससँग जोडिएको छ। समेबजीमा चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा तथा जाँडरक्सी लगायतका परिकार हुन्छन्।

बौ राखिसकेपछि मौन रहेर घरको मूल ढोकाको ठेलो अर्थात् लुखाखरुमा तीनखुट्टे किला ठोक्ने चलन छ। यसले घरमा खराब शक्ति प्रवेश गर्न नदिने विश्वास गरिन्छ।

गठेमङ्गल मनाउने परम्परा निकै पुरानो हो।  तर आधुनिक जीवनशैली, सहरीकरण र ठाउँको अभावसँगै धेरै टोलमा यो परम्परा हराउँदै गएको छ।

यद्यपि काठमाडौंको नरदेवी र किलागल, भक्तपुरका विभिन्न क्षेत्र, ललितपुरको पाटन, मंगलबजार र खोकना तथा काठमाडौंको पशुपति–जयबागेश्वरी क्षेत्र, कीर्तिपुर र साँखुका टोलहरूमा अझै पनि गठेमङ्गल विशेष रूपमा मनाइन्छ।

गठेमङ्गललाई नेवार समुदायमा चाडपर्वको सुरुवातको संकेतका रूपमा पनि लिइन्छ। यही दिनदेखि टोलटोलमा लाखे बाजा सुनिन थाल्छ। लाखे नाच नेवार समुदायको प्रसिद्ध परम्परागत सांस्कृतिक नृत्य हो। घाः, मुस्याः, धिमे, नाय्खिं, ढोलक र ट्याम्कोजस्ता बाजाको तान्त्रिक धुनमा लाखे नाच प्रस्तुत गरिन्छ।

गठेमङ्गलबाट सुरु भएको यो सांस्कृतिक लहर इन्द्रजात्रा, कृष्णजन्माष्टमी हुँदै गाईजात्रा, बाडाजात्रा अर्थात् पञ्चदान, दशैं, तिहारलगायतका चाडपर्वसम्म पुग्छ।

यसअर्थमा गठेमङ्गल एउटा दिनको पर्व मात्र होइन, काठमाडौं उपत्यकाको सांस्कृतिक जीवनमा चाडपर्वको ढोका खोल्ने पर्व हो। खेतमा रोपाइँ सकेर केही फुर्सदिलो बनेको समाजलाई यसले फेरि जात्रा, नाच, बाजा र सामूहिक उत्सवको लयमा फर्काउँछ।परम्परा बदलिँदै गए पनि गठेमङ्गलले बोकेको सामूहिकता, सांस्कृतिक स्मृति र पुस्तान्तरणको सन्देश भने अझै उस्तै छ।