
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू लगायत सीमान्तकृत समुदायका अधिकार र प्रतिनिधित्वमाथि कार्यकारी निकायबाटै प्रश्न उठ्नु गम्भीर विषय भएको बताए।
आङ्देम्बेले धर्मनिरपेक्षता, संघीयता, प्रदेश संरचना र समानुपातिक समावेशी प्रतिनिधित्व संविधानको मूल मर्म भएको उल्लेख गर्दै यी उपलब्धि लामो संघर्षबाट प्राप्त भएकाले ती उपलब्धिहरू कसैको निगाहमा प्राप्त नभएको बताए।
उनले अधिकार संरक्षणका लागि आदिवासी जनजाति समुदाय सचेत र संगठित हुनुपर्नेमा जोड दिँदै संविधान संशोधनका क्रममा असन्तुष्ट समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनका लागि गठन गरेको समितिप्रति कांग्रेसको केही ‘रिजर्भेसन’ रहेको भन्दै उनले आदिवासी जनजातिलाई पनि यस विषयमा सचेत हुन आग्रह गरे।