
शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान भेटिएको छ ।
खोटाङको हलेसीबाट आउँदै गर्दा सिन्धुलीको गोलञ्जोर गाउँपालिका- १ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३- ०१- ०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा डुबेको गाडी जेसिभीको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेले गाडी घटनास्थल भएको ५० मिटर तलबाट झिके पनि गाडीमा सवार चालक सहित तीनजना अझै बेपत्ता रहेको बताउनुभयो ।
बेपत्ता हुनेहरूमा भक्तपुर जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरू खटिएका छन् ।
गाडीमा चारजना सवार थिए । हामफालेर बाँच्न सफल घाइते भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।