काठमाडौं, चैत १४ :

नेपाली चलचित्र ‘डोरी’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले देशभरका हलमा बुधबारबाटै बुकिङ खुला गरेको थियो । अन्य केही हलले पनि बुकिङ खुलाएका छन् ।

वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुनेछ । उनले देशभर करिब १२० शो प्राप्त हुने जनाए । चलचित्र भोलि (शुक्रबार) बाट प्रदर्शनमा आउन लागेको हो ।

त्यसैगरी, ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । बुधबार साँझ यो चलचित्रको सेन्सर गरिएको थियो । अब यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।

चलचित्र ‘डोरी’ को प्रदर्शनअघि अभिनेता कुशवाहको अनौठो प्रचार [भिडियोसहित]

चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्यरस, थ्रिल र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताए । लामाले चलचित्रको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैंले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा छन् । चलचित्रको स्क्रिप्ट मनोज पण्डित हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज शिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनिश फागो छन् ।