कैलाली र कञ्चनपुरका ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा सात तटबन्धका योजनामध्ये ३१ वटाको काम सम्पन्न भएको भू- तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।
गत आवमा कैलालीमा २५ र कञ्चनपुरमा छ गरी ३१ वटा खोला नदी किनार कटान नियन्त्रण तथा रोकथामका लागि तटबन्धको काम भएको कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुई जिल्लाका ३५ वटा खोला तथा नदी कटान नियन्त्रण गर्न गत आर्थिक वर्षमा विनियोजित कुल तीन करोड ५० लाखमध्ये तीन करोड १० लाख खर्च भएको भू- तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।
तटबन्धका प्रत्येक योजनामा १० लाख बजेट रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा नदी कटान निणन्त्रण गर्न प्रत्येक वर्ष विनियोजन गरिँदै आएको बजेट पर्याप्त नभएको उहाँको भनाइ छ । कैलाली र कञ्चनपुर कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समितिमार्फत तटबन्धको काम गरेको जनाएको छ ।