काठमाडौं, चैत १४ :

शिक्षकहरूले आफ्ना माग पूरा नभएको जनाउँदै माध्यामिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेका छन्।

नेपाल महासंघले २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुनका लागि शिक्षकहरूलाई आह्वान गर्दै एसइई र अन्य कुनै पनि परीक्षा उत्तरपुस्तिका परीक्षण नगर्न निर्देशन दिएको हो।

शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण नगरी शैक्षिक सडक आन्दोलनमा सहभागी हुने निर्णय गरेका हुन्। राज्यले शिक्षकका माग पूरा नगरेकाले यो स्थिति सिर्जना भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अध्यक्ष सुवेदीका अनुसार आन्दोलनमा  ४ लाख शिक्षक कर्मचारीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सहभागी हुने छन्।

महासंघले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने तालिम-गोष्ठीलगायतका शैक्षिक गतिविधिहरूमा पनि शिक्षकहरूलाई सहभागी नहुन आग्रह गरेको छ। चैत ७ देखि सुरु भएको एसइई १९ गते सकिँदैछ।