काठमाडौं, चैत १४ :

नेपाल पर्यटन बोर्डले इटालीमा नेपालको साहसिक पर्यटन प्रचार गर्दै पर्यटन साझेदारी बढाउन आवश्यक रहेको औंल्याएको छ ।

नेपाल पर्यटन बोर्ड र इटालीको रोमस्थित नेपालका लागि महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको गन्तव्य प्रबर्द्धन कार्यक्रमअन्तर्गत नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार र प्रवर्द्धन गरिएको छ ।

यही मार्च २६ मा रोममा आयोजित गन्तव्य प्रवर्द्धन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपाल-इटाली मित्रताको महत्त्व उजागर गर्दै पर्यटन साझेदारीलाई अझै प्रगाढ बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक पर्यटन अवसरहरू तथा जैविक विविधताका विशेषताहरू प्रस्तुत गर्दै सन् २०२४ मा १४ हजारभन्दा बढी इटालियन पर्यटक नेपाल भित्रिएको तथ्यांकसमेत प्रस्तुत गरेका छन् ।

सचिव सिंहले विश्वप्रसिद्ध इटालियन पर्वतारोही रेनहोल्ड मेसनरको योगदानको सम्मान गर्दै, नेपालको हिमालमा उनका अद्वितीय उपलब्धिहरूले आरोहीहरूको पुस्तालाई प्रेरित गरेको चर्चासमते गरेका छन् । उनले थपे, ‘नेपालमा दिगो पर्यटन तथा पूर्वाधार विकासलाई अझ प्रवर्द्धन गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपाल पर्यटन प्रबर्द्धनसम्बन्धी विस्तृत प्रस्तुति दिँदै नेपालका साहसिक पर्यटन, पदयात्रा मार्गहरू, युनेस्को विश्व सम्पदा क्षेत्रहरू र अनौठा यात्रा अनुभवहरूबारे जानकारी गराए । उनले इटालियन टुर अपरेटरहरूलाई आफ्ना प्याकेजहरूमा नेपाललाई समावेश गर्न आग्रह गर्दै इटालियन सञ्चारमाध्यमहरूलाई नेपाल पर्यटनसम्बन्धी थप सामग्री प्रकाशन गर्न अनुरोधसमेत गरेका छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्राले सञ्चालन गरेका थिए ।

नेपाल सरकार पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले इटालियन पर्यटन उद्योग, सञ्चारमाध्यम तथा साझेदारहरूलाई नेपालको पर्यटन प्रवर्द्धनमा निरन्तर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । उनले नेपाल र इटालीबीचको पर्यटन सम्बन्धलाई अझ बलियो बनाउँदै इटालियन पर्यटकहरूको लागि अविस्मरणीय यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

कार्यक्रममा इटालीको विदेश मन्त्रालयका अधिकारीहरू, यात्रा तथा पर्यटन व्यवसायीहरू तथा सञ्चार प्रतिनिधिसहित ३० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपालका मानार्थ महावाणिज्यदूत पाओलो नुगारीले नेपालप्रति इटालियन पर्यटकको बढ्दो रुचि तथा नेपाललाई साहसिक, सांस्कृतिक एवं सम्पदा अन्वेषणको प्रमुख गन्तव्यका रूपमा चित्रण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले निकट भविष्यमै इटालियन टुर अपरेटरहरू र मिडियाका लागि नेपाल भ्रमण कार्यक्रम आयोजना गर्ने घोषणासमेत गरेको छ । यस कार्यक्रमले इटालियन पर्यटकहरू माझ नेपाललाई थप परिचित गराउने, पर्यटन साझेदारी सुदृढ गर्ने तथा इटालियन यात्रुलाई नेपालका विविध पर्यटन सम्भावनाहरू अन्वेषण गर्ने अवसर प्राप्त भएको बोर्डले जनाएको छ ।

यसका साथै कार्यक्रममा सहभागीमध्येबाट ‘लक्की ड्र’ मार्फत विजेता एक जनालाई सातदिने नेपाल भ्रमणको प्याकेज उपहार दिइएको छ । जसमा रोमस्थित टुर अपरेटर लौरा ग्रासीले उक्त लक्की ड्र जितेकी हुन् ।