
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताएका छन् ।
केही हप्ताअघि इशिबा र ट्रम्पबीच मैत्रीपूर्ण वार्ता भएको केही समयपछि यो कर वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक तथा रणनीतिक सहयोगीहरूमध्ये एक जापानका लागि ठूलो झट्का साबित भएको छ । जापानी अटो कम्पनीका सेयरहरू शुक्रबार पनि घटेका छन् ।
यी कदमले अमेरिकाका मित्र राष्ट्रहरूमा चिन्ता उत्पन्न गरेको छ ।
प्रधानमन्त्री मार्क कार्नीले गहिरो द्विपक्षीय सम्बन्धको युग ‘समाप्त’ भएको घोषणा गर्दै देशको अटो उद्योगलाई ध्वस्त पार्न सक्ने ट्रम्पको भन्सार शुल्कप्रति क्यानाडाले तीव्र प्रतिक्रिया जनाएको छ ।
“यसको जापानी अर्थतन्त्रमा प्रभाव अत्यन्त महत्त्वपूर्ण हुनेछ । यसमा ठूलो झगडा गर्नुमा केही फाइदा छैन । हामी वासिङ्टनलाई तार्किक रूपमा बुझाउनेछौँ”, जापानका लागि इशिबाले चेतावनी दिदै भनेका छन्, “मुख्य कुरा के हो भने, जापानमा यति उच्च भन्सार शुल्क लगाउँदा संयुक्त राज्य अमेरिकालाई कुनै विशेष लाभ हुँदैन ।”
जापानमा १० प्रतिशत रोजगारी अटो उद्योगसँग जोडिएको छ ।
प्रधानमन्त्री इशिबाले बिहीबार जापानले भन्सार शुल्कको ‘उपयुक्त’ प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका थिए ।
सरकारी प्रवक्ता योसिमासा हयासीले वर्तमान कदमहरू र अमेरिकी सरकारका अन्य व्यापक व्यापार प्रतिबन्धहरूले जापान र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक सम्बन्धका साथै विश्व अर्थव्यवस्था र बहुपक्षीय व्यापार प्रणालीमा उल्लेखनीय प्रभाव पार्न सक्ने बताएका छन् ।
ट्रम्पको यो कदमले पहिले नै स्टिल र एल्युमिनियममा लगाइएका भन्सार शुल्कहरूका कारण असुरक्षित रहेका लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ ।
दिउँसो कारोबारमा टोयोटा चार दशमलव ७६ प्रतिशत, होन्डा चार दशमलव ७७ प्रतिशत र निसान दुई दशमलव ९७ प्रतिशतले घटेका छन् । यो गिरावट बिहीबारको ठूलो गिरावटको निरन्तरता थियो ।
एक सरकारी स्रोतका अनुसार दक्षिण कोरिया, जापान र चीनका शीर्ष व्यापार अधिकारीहरू आर्थिक सहयोगबारे छलफल गर्न आइतबार सियोलमा भेट्ने तयारी गरेका छन् ।