काठमाडौं, चैत २० :

राजस्व अनुसन्धान विभागको टोलीले टोखाबाट बरामद २५ करोडका मालिकको पत्तो लगाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने नारायण पौडेल बरामद रकमको मालिक भएको खुलेको छ । २१ वर्ष पहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो।

नेकपा माओवादी केन्द्रनिकट व्यापारी पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्।  २०८० असारमा उनी जुवाखालबाट पक्राउ परेका थिए।

त्यस रकम पौडेलले नै चीन पठाउन ट्रक चालकलाई  जिम्मा लगाएका थिए । चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा पनि लागेको अनुसन्धानमा खुलेको छ ।

राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरु समेत नियन्त्रणमा लिइसकेको छ । पौडेल ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ। उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते  टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो गरी २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो।