
सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको जनाएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले हिजोदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । मागको सुनुवाइ नभएको भन्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।
भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोशिक्षकहरुले अध्यादेशबाट भए पनि ऐन जारी गर्न माग गरेका छन् । यसैबीच आन्दोलनरत शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्यहीन रहेको प्रतिक्रिया दिएको छ ।
पहिले नै वार्तामा बसेर सहमति भइसकेको हुँदा फेरि वार्ता र सहमति आवश्यक नभएको महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले बताए ।उनले भने, ‘ऐन जारी गर्ने भएमात्र मन्त्रालय जान्छौं । सहमति र छलफलको आवश्यक छैन ।’
यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।
यस्तो छ विज्ञप्ति :
