झापा, चैत २३ :

झापाका नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । 

स्वास्थ्य बीमाको प्रथम बिन्दुको रूपमा सेवा दिँदै आएका नगर अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरसमेत बढाएका छन् ।

विर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरिरहेका छन् । झापाका गाउँपालिकामा आधारभूत अस्पताल छन् ।

धुलाबारी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै सञ्चालनमा आएको मेचीनगर नगर अस्पतालमा सात महिना यता ६२ हजार ८७७ जनाले उपचार सेवा लिएको नगरकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।

विशेषज्ञ उपचार सेवा प्रदान गर्न थालेपछि उपचारका लागि आउने नगरबासीको सङ्ख्या बढेको छ,” उनले भनिन्, “हरेक नागरिकको स्वास्थ्य सुविधामा पहुँच पुग्नुपर्छ भनेर हामीले सेवालाई विस्तार गरिरहेका छौँ । त्यहीअनुसार नगरबासीले विश्वास गर्न थाल्नुभएको छ ।”

मेचीनगर- १० धुलाबारीमा रहेको मेचीनगर अस्पतालमा स्त्रीरोग तथा प्रसुति, बालरोग तथा नाक, कान र घाँटी, जनरल फिजिसियनलगायतको उपचार सेवा उपलब्ध रहेको उनले जानकारी दिइन् । सरकारी अस्पताल जाने अधिकांश नगरबासी स्वास्थ्य बीमामार्फत उपचार लिने गर्छन् ।

बिरामीको चाप बढेकाले वैशाखदेखि १५ शय्या राखेर २४ घण्टा सबै सेवा उपलब्ध हुनेगरी नवनिर्मित भवनबाट उपचार सेवा सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । अस्पतालमा बीमामार्फत सबै किसिमका औषधि पाइने भएकाले सर्वसाधारणमा नगरको अस्पतालप्रति विश्वास बढेको उनको भनाइ छ । 

अस्पतालले ओपीडी, इसीजी, युएसजी, बीमा, फार्मेसी, ल्याबलगायतका सेवा दिँदै आएको छ । भदौ ४ गते सुरु भएको नगर अस्पतालबाट फागुन मसान्तसम्ममा १९ हजार ५०५ जनाले ल्याव सेवा, दुई हजार २३४ जनाले युएसजी, ८४८ जनाले ईसीजी र २७५ जना बिरामीले इमरजेन्सी सेवा लिएको पाइएको छ ।

नगरपालिकाले चार जना एमबीबीएस डाक्टरबाट उपचार सेवा प्रदान गर्दै आएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले चैतदेखि थप अल्ट्रासाउन्ड सेवा दिन थालेको बताए । 

यसैगरी, विर्तामोड नगर अस्पतालले दैनिक चार सयसम्म बिरामीलाई विभिन्न उपचार सेवा उपलब्ध गराउँदै आएको छ । ठूलाठूला निजी अस्पतालले भरिएको विर्तामोडमा विश्वसनीय उपचार सेवाकै कारण सरकारी अस्पतालमा सेवा लिन आउने बढिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुनिल अधिकारीले बताए ।

कनकाई र अर्जुनधारामा पनि नगर अस्पताल सञ्चालनमा रहेका छन् । स्वास्थ्य बीमाको प्रथम विन्दु तोकिएका कारण नागरिक सरकारी नगर अस्पतालको उपचार सेवाप्रति आकर्षित भएका छन् ।