लन्डन, चैत २४ :

कङ्गोको लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा ठुलो विनाश गरेको छ ।

“धेरै घाइतेहरू छन्, उनीहलाई बाहिर निकालिएको र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले आइतबार बताएका छन् ।

चिकित्सकले पीडितहरू डुबेका वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका के हुन् भन्नेबारे अझै पुष्टि नभएको बताएका छन् ।

शुक्रबार रातिदेखि शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको जनाइएको छ ।

त्यस्तै बढ्दो वर्षाका कारण एउटा राष्ट्रिय सडकमा यातायात बन्द  भएको छ । उक्त सडक किन्सासाको मुख्य मार्ग भएको जनाइएको छ ।

बाढीले प्रायः किन्सासालाई प्रभावित पार्ने गरेको छ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो कङ्गो नदीको किनारमा अवस्थित छ ।