झापा, चैत २५ :

झापा कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन् ।

बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नम्बर ६ मा तीन दिनयता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो ।

घाइते हुनेमा ४ वर्षीया बालिकासहित चार महिला र आठजना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको यादवले बताए ।

कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेबिजविरुद्धको खोप लगाउन सुरु भएको छ । उनले केन्द्रमा रहेको खोपले एकपटक मात्र पुग्ने भएका कारण थप खोप कोसी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए ।

पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज (सोमबार) बिहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए । -रासस