
नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
नवलपरासी (बर्दघाट- सुस्तापूर्व)को गैँडाकोट- १ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट- १ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए ।
दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन् । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको हजुरआमाले बताइन् ।
प्रहरीसँग गोताखोर नभएकाले आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।