
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा छिटपुट वर्षा भएको छ । सिन्धुपाल्चोक, नुवाकोट, पाल्पा, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लाहरूमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित भएकाले पनि वर्षाले राहत दिलाउने मौसमविद्हरूको भनाइ छ ।
बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन् । कोसी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता काठमाडौंको वायुमण्डल प्रदूषित हुँदा सर्वसाधारणमा आँखा पोल्ने, घाँटी दुख्ने, दमलगायतका समस्या देखिन थालेको छ ।