रसुवा, चैत २७ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन कार्यक्रममा उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।
     
नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए ।
     
‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ मा कुल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।