उदयपुर, चैत २८ :

अविरल वर्षापछिको बाढीले उदयपुरको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए ।  आज बिहानदेखि परेको बाढीले प्रिस्टेड प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।

इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगार्इँका अनुसार पुल भाचिँदा  दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । ‘दुई करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन,’ उनले भने, ‘प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।’

मिर्चैया-कटारी-घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । ‘त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो, ’उनले भने ,‘यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।’

पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।