
म्याग्दीको रघुगङ्गा गाउँपालिका- २ सिरुबारी क्षेत्रको पहिरोले चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी- जोमसोम- कोरला सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी- जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।
स्तरोन्नतिका क्रममा रहेको बेनी- जोमसोम- सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताउनुभयो ।
खसेको पहिरो पन्छाउदै सावधानी अपनाएर यातायात सञ्चालन गर्ने गरिएको छ । आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगर सहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारी साधन फस्ने, गुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम बढेको उहाँले बताउनुभयो।
यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठूलो ढुङ्गा खसेर च्यापिंदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल समेत नष्ट गरेको छ ।
सिरुबारी, महभीर, बैसरी, गुइँठेभिर लगायतका ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी- जोमसोम- कोरला सडक आयोजनाले अपिल गरेका छन् ।