
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज (शुक्रबार) उनले प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए ।
प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जनाउँदै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए । ‘घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु । घटनामा परी मृत्यु भएका दुवैजनाका परिवारलाई सरकारले राहतस्वरुप दश/दश लाख रुपैयाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने ।
गृहमन्त्री लेखकले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गरे । ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुदैन,’ उनले भने, ‘हिन्दु धर्मजस्तो उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिका लागि प्रयोग गर्नु हुँदैन ।’
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिए । त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो । ‘यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर छ । घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा प्रस्ट छौँ,’ उनले भने ।