विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। दुम्कीवासस्थित उक्त खोलामा पानीको बहाव तीव्र भएसँगै अस्थायी रुपमा बनाइएको डाइभर्सन बगाएको हो।
यसअघि गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा विनयी खोलाको पक्की पुल भत्किएपछि वैकल्पिक रूपमा डाइभर्सन निर्माण गरिएको थियो। तर, बुधबार परेको वर्षाले खोलामा आएको बाढीले सो डाइभर्सनसमेत बगाउँदा ट्राफिक व्यवस्थापनमा थप समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।
सडक अवरुद्ध भएपछि नारायणघाट–बुटवल भएर चल्ने सवारी साधनहरू पूर्णरूपमा रोकिएका छन्। अत्यावश्यक सेवाका सवारीलाई भने होङ्सी सिमेन्ट कारखानाको बाटो प्रयोग गराउँदै आवतजावत गराइएको छ। तर, वैकल्पिक बाटो जंगल हुँदै जानुपर्ने भएकाले यात्रुहरूलाई पानी र खाजाको समस्या भइरहेको छ। यसकारण प्रहरी प्रशासनले यात्रुवाहक बस र मालवाहक ट्रकलाई बजार क्षेत्रमा रोकेको जनाएको छ।
ढकालका अनुसार दाउन्नेमा सडक विस्तारको काम भइरहेकाले दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकिने व्यवस्था मिलाइएको छ। यही समयमा डाइभर्सन मर्मतसमेत गरिने योजना रहेको प्रहरीको भनाइ छ।
सडक सञ्चालन सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।