मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकार चलाइरहेको जनमत पार्टीले आइतबार प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजना गरिएको प्रदर्शनमा पार्टीका शीर्ष नेताहरू सहभागी थिए।
सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै गरिएको प्रदर्शनमा योजना खरिद-बिक्रीको विषयमा छानबिन गर्न, धनुषा क्षेत्र नं. ३ मा योजना नपरेको भन्दै पुरक परियोजनाबाट बजेट विनियोजनको माग गरिएको थियो।
पार्टीका नेता डा. प्रशन्नकुमार झाले सरकारको भित्री संरचना र मन्त्रीहरूकै भूमिकाप्रति प्रश्न उठाउँदै प्रदर्शन गर्नुपरेको बताए।
प्रदर्शनमा सहभागीहरूले 'भ्रष्ट मन्त्रीलाई कारबाही गर', 'योजना खरिद-बिक्री गर्न पाइँदैन' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
ज्ञापनपत्रमा जनकपुरधामको सार्वजनिक सम्पत्ति संरक्षण गर्न, अतिक्रमण हटाउन र योजनाको निष्पक्ष वितरण सुनिश्चित गर्न माग गरिएको उल्लेख छ।