दार्चुला, भदौ १३ :

आज बिहान सुक्खा पहिरो खसेर महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर- खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका- ८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। 

लोकमार्गका विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिरोका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आवतजावत गर्ने दिवा तथा रात्रिसेवाका बस बाटोमा नै रोकिएका छन् ।

पटकपटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारी साधन समेत सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ । 

बिहानैदेखि डिभिजन सडक कार्यालय बैतडी पाटनको स्काभेटरले पहिरो पन्छ्याएर पनि ठूलो ढुङ्गा फुटाउन अर्को स्काभेटर आएपछि मात्र ढुङ्गा हटाएर बाटो सञ्चालन गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिनुभयो ।