‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव २०८२’ सुरु भएको छ ।
विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले नगरले पर्यटकीयस्थल हुर्लुङमा सोमबारदेखि महोत्सव आयोजना गरेको हो ।
दिक्तेल- हलेसी सडकखण्डको हुर्लुङमा आयोजना गरिएको महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न जातजातिको संस्कार- संस्कृतिसँग सम्बन्धित पूजापाठ, झाँकी, रैथाने खानाका परिकार, वेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन कक्षका रूपमा राखिएका छन् ।
नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको महोत्सवमा रेडपाण्डा तथा थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरूसमेत कक्षमा प्रदर्शनका लागि राखिएका छन् ।
नगरपालिकाको आयोजनामा सबै जातजातिको सहभागिता हुनेगरी महोत्सवको आयोजना गरिएकाले स्थानीय उत्साहित भएका छन् । महोत्सवमा राखिएका कक्षहरू स्थानीयवासीले आफ्नै लगानीमा राखेका छन् भने संस्कार–संस्कृति झल्कने झाँकी प्रदर्शनमा स्वतःस्फूर्त सहभागी भएको नगर कार्यालयले जनाएको छ ।