काठमाडौं, वैशाख २ :

देशका १२ संघीय अस्पतालले चैत महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भनेअनुसार मन्त्रालयले गत चैत पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका थिए । चैतभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको छ । यसैगरी अस्पतालअन्तर्गत ट्रमा सेन्टरले सीटी स्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको हो । यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी सुरु गरेको छ ।

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा सुरु गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले कुपन्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ ।

तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु गरेको छ । भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पीएफटी सेवा आरम्भ गरेको छ ।

कोसी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आईभीएफ सु्रु गरेको छ । सेवाको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले सुरुवात गरेका थिए ।

डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमुना लिने गरी एकीकृत ल्याब नमुना संकलन सुरु गरेको छ । वीरगन्जको नारायणी अस्पतालले एनआईसीयूमा विद्युतीय चिकित्सा प्रतिवेदन एमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ सुरु गरेको छ ।

भेरी अस्पताल नेपालगन्जले चैतभित्र आईसीयूमा दुई शय्या तथा बर्न वार्डमा दुई थप गरी आठ शय्या विस्तार गरेको छ ।

चैतभित्रै एमसीएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु गर्न सकेका छैनन् । ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।