
यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ । पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्यटकको आगमन भएको हो ।
पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।
नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ ।
‘नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित भएका छन् । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो,’उनले भने, ‘आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।’
भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छभने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।