काठमाडौं, वैशाख ३ :

भुटानको राजधानी थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिको पदक विजेता खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ ।

उनीहरुको स्वागतका लागि नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

महिला ५० केजी तौल समूहमा नेपालको आरती बम्जनले भुटानका जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाए । महिला ५२ केजी तैल समूहमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकने आधारमा पराजित गरी नेपाललाई दोस्रो स्वर्ण दिलाइन् । त्यसैगरी महिला ५४ केजी तौल समूहमा नेपालक वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकको पराजित गरी तेस्रो स्वर्ण जित्न सफल भइन् ।

त्यसैगरी पुरुषतर्फ ४८ केजी तौल समूहमा नेपालका लालप्रसाद उप्रेती भुटानका खेलाडी दोर्जे मिगरसँग ४:१ अंकका आधारमा प्रतिस्पर्धात्मक हार बेहोरी दोस्रो भए । पुरुष ५१ केजी तौल समूहमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्णकैलाश राईलाई ५:० अंकको आधारमा पराजित गरी स्वर्ण जित्न सफल भए ।

त्यसैगरी पुरुष ५४ केजी तौल समूहमा नेपालले ठुलो आशा गरिएका चन्द्रबहादुर थापा बंगलादेशका खेलाडी महोमद उन्सोवसँग ३-२ को प्रतिस्पर्धात्मक हार बेहोर्न पुगे । तीनै राउन्ड आफ्नो पक्षमा पार्दै रोचक खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रिको वार्निङ पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिदा ३:२ ले पछि भई रजत पदकमा सीमित भए । यसअघि चन्दले सेमिफाइनलमा भारतका खेलाडीलाई ५-० ले हराई फाइनल पुगेका थिए ।

प्रशिक्षकमा प्रमुख प्रशिक्षक ओलम्पियन प्रवीण तुलाधर, आईबा थ्री स्टार कोच दीपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरु उमेश कटुवाल र सन्दीप श्रेष्ठ थिए । साथै भुटान बक्सिङ संघको विशेष निमन्त्रणामा प्रतियोगिता सञ्चानका लागि टेक्निकल डेलिगेट हेडका रुपमा नेपालको पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिएको थियो ।

रेफ्री/जजमा नेपालबाट आईबीए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली, टु स्टर रेफ्री/जज सन्तोष आलेमगर, वान स्टार रेफ्री/जजहरु अनुराधा लामा, जीवन कवां र राजकुमार महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपालबाट सहभागी भएका स्कोरिङ अप्रेटर असिम न्यौपानेले स्कोरिङ अप्रेटरको भूमिका निर्वाह गरेको थिए ।