काठमाडौं, वैशाख ७ :

सर्वोच्च अदालतले ५२ संवैधानिक निकायका पदाधिकारीविरुद्धको रिटमा आज पनि सुनुवाइ गर्दैछ । संवैधानिक निकायमा छलकपटपूर्ण नियुक्त गरेको भन्दै उनीहरुविरुद्धको रिटमा सुनुवाइलाई निरन्तरता दिएको हो। यसअघि वैशाख ३ गते बुधबार सुनुवाइ भएको थियो।

संवैधानिक परिषद सम्बन्धि ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ विनै नियुक्त पदाधिकारी नियुक्त गरेको भन्दै त्यसविरुद्धको रिटमा सुनुवाइ हुँदै आएको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको (पाँच न्यायाधीशको) संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको थियो। नियुक्तिविरुद्धका रिटको अन्तिम सुनुवाइ गत माघ ३० गतेदेखि सुरु भएको हो । चार वर्षसम्म सुनुवाइ विनै थन्क्याइएको थियो ।