काठमाडौँ, भदौ १४ :

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गर्नुभएको छ ।

केही दिनयता गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा तरकारी खेतीमा संलग्न किसानको स्वास्थ्यमा गम्भीर समस्या आएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजानिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

सावधानी नअपनाई अधिक विषादी प्रयोग गर्दा गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार सार्वजानिक भएको थियो । 

समितिलाई प्रभावित भनिएको गोरखाको गण्डकी गाउँपालिकामै पुगेर वास्तविक अवस्था सहितको प्रतिवेदन पेश गर्न भनिएको छ । 

अधिकृत पोखरेल नेतृत्वको कार्यदल बुधबार नै प्रभावित ठाउँ पुगेर काम सुरु गरिसकेको जनाइएको छ । 

समितिमा वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्का डा. काशीनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, बाली संरक्षण अधिकृत विवेक सुनार र प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन् ।

सिम्बोलिक फोटो