
चीनमा विभिन्न नेपाली खानाका परिकार, पाककला र सांस्कृतिक सम्पदाको प्रबर्द्धन गरिएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा सोमबार ‘नेपाल फुड फेस्टिभल २०२५’ आयोजना गरिएको हो ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव तथा ‘नेपाल भ्रमण वर्ष २०२५’ को अवसर पारेर चीनमा नेपाली पाक कला तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जानकारी गराएका छन् ।
कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपालका विविधतायुक्त एवं समृद्ध पाक परम्पराको चर्चा गर्दै विश्वभरका नागरिकलाई नेपाल भ्रमण गरी नेपाली खाना संस्कृतिको प्रत्यक्ष अनुभव लिन आह्वान गरेकी थिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले नेपाली मौलिक परिकारहरू संसारका अन्य स्थानहरूमा पाइने परिकारभन्दा पृथक र विशेष रहेको उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् ।
कार्यक्रममा विश्व पर्यटन महासंघका उपाध्यक्ष स्यु पेंगले चीनमा नेपाली खाना प्रवर्द्धन गर्ने यस प्रयासको प्रशंसा गर्दै नेपाली खानाको स्वाद र त्यससँग जोडिएको स्थानीय संस्कृति अनुभव गर्न आग्रह गरेका छन् ।
चाइना एसोसिएसन अफ ट्राभल सर्भिसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनबीचको सांस्कृतिक तथा पर्यटन उद्योगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । नेपाल होटेल संघका अध्यक्ष विनायक शाहले नेपाली मौलिक परिकारहरू प्रवर्द्धन गर्नाले पर्यटकहरूलाई नेपालका परम्परागत स्वाद चाख्न थप प्रेरणा मिल्ने बताएका हुन् ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले नेपालको आकर्षक पर्यटकीय गन्तव्यबारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपाली पाक संस्कृतिलाई थप बुझेर मात्र नपुग्ने भएको अनुभव लिनका लागि नेपाल भ्रमणका लागि आग्रहसमेत गरेका छन् ।
‘फुड फेस्टिभल २०२५’ मा सेलरोटी, म:म:, यमरी, जुजु धौ, कागुनुको खिर, चटामरी, छोइला, बरा, गुन्द्रुक, मुस्ताङ आलुलगायत नेपाली परिकार राखिएका थिए । यसका साथै थाङ्का, मूर्तिहरू, पास्मिना, सिंगिङ बाउल, गलैँचा, गरगहनाहरू, नेपाली चिया र नेपाली हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य तथा गीत-संगीतसमेत प्रस्तुत गरिएको थियो ।
चार सयभन्दा बढी सहभागीको उपस्थिति रहेको कार्यक्रममा चिनियाँ सरकारी अधिकारीहरू, कूटनीतिक समुदायका प्रतिनिधिहरू (बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पनामालगायत राजदूतहरू), विश्व पर्यटन महासंघ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिस, ट्राभल एजेन्सीहरू, साथै नेपाली तथा चिनियाँ समुदायका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहभागी भएका थिए ।