ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रममा मात्र नराखी निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका हुन्।
उनले पछिल्लो तीन दशकको उपलब्धिलाई मात्र पर्याप्त नमानेर नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यान दिँदै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको धारणा राखे । सरकारले आगामी दिनमा एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको भन्दै उनले यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभइ स्थानीय तहको आर्थिक विकास, ऊर्जामा आत्मनिर्भरताको नयाँ अभ्यास पनि भएको बताए ।
प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकतालाई समेत अध्ययन गरी योजना बनाउनुपर्ने भएकाले ग्यासमुक्त पालिकाको अवधारणालाई कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।