सर्लाही, वैशाख ११ :

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६जनाविरुद्ध वन मुद्दा दायर भएको छ। सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला वन कार्यालय सर्लाहीले जिल्ला अदालत मलंगवामा मुद्दा दायर गरेको हो ।

थापा र मोक्तानसहित तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका तत्कालिन इन्जिनियर सागर पौडेलविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

गैरकानुनी रूपमा ताल निर्माण गरेको अभियोगमै २०८१ जेठ २९ मा निलम्बित मेयर थापा र उपमेयर मोक्तान सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

२०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख थापाले नगरपालिकाको नगरसभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए।

वन क्षेत्र अतिक्रमण गरी परियोजनाको बिनाकुनै स्वीकृति त्यस क्षेत्रको ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी माछा पोखरी खन्ने भनेर बनाएको परियोजनालाई पछि नगर प्रमुखकै नामबाट भरत ताल नाम राखिएको थियो।  अहिले यो ठाउँ पर्यटकीय स्थल बनेको छ।