
पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु पाँच सय २५ सम्म पुगेको अन्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अन्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु चार सय ३०, मध्यमको रु तीन सय ८० र ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अन्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो । सङ्घको हिजो सम्पन्न छलफलले अन्डाको मूल्य बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
एक्सएल अन्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०,ठूलो अन्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उहाँले बताउनुभयो । नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अन्डाको मूल्य उच्च हुँदा ठूलो अन्डा प्रतिपेटी रु तीन हजार छ सय ७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अन्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उहाँले भन्नुभयो,“गर्मीका कारण अन्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अन्डाको मूल्य बढेको हो ।”उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार अन्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”,उहाँले भन्नुभयो,“अन्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।
अहिले दैनिक ३० लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको छ । नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।