
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भेटेका छन् ।
दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको बताएको जानकारी पुनले दिए । ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन,’ चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।
यस्तै भारतको जम्मू-कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाइवालेले खुसी व्यक्त गरेको पुनले बताए । उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु,’ चौथाइवालेले पुनसँग भनेका थिए ।
चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए । आफूहरुले दुई दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो ।
त्यस क्रममा चौथाइवालेले नेपाल-भारत सम्बन्ध सुदृढ गर्न पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले खेलेको भूमिकाको पनि प्रशंसा गरेको पुनले उल्लेख गरे ।
नेपालको तीनदिने भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाइवालेले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला, उदयशमशेर राणा र गृहमन्त्रीसमेत रहेका अर्का नेता रमेश लेखकसँग भेटेका थिए ।