काठमाडौं, वैशाख २१ :

कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ २ गतेसम्म चल्ने परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुनेछन्।

परीक्षा सञ्चालनका लागि देशभर १५ सय ९१ परीक्षा केन्द्र तोकिएका छन् । जसमा ४८ हजार २०९ जना जनशक्ति खटिएका छन् । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ विद्यार्थी सहभागी छन् ।

प्रदेशहरूमा सबैभन्दा धेरै बागमतीबाट १ लाख ३५ हजार २४० र सबैभन्दा कम कर्णालीबाट ३८ हजार ८८८ जना परीक्षार्थी सहभागी छन् । जिल्लातर्फ काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार १३३ र मनाङबाट सबैभन्दा कम ४५ जना परीक्षार्थी छन् । यस्तै जापानको एभरेस्ट स्कुलबाट ३८ विद्यार्थीले यसपटक कक्षा १२ को परीक्षामा सहभागिता जनाएका छन् ।

परीक्षाको शान्तिपूर्ण सञ्चालनका लागि जिल्ला समन्वय समिति गठन गरिएको छ । बोर्डले परीक्षा केन्द्रमा मोबाइल, स्मार्ट घडी र अन्य विद्युतीय उपकरण लैजान निषेध गरेको छ । उल्लंघन गरेमा परीक्षा रद्द हुने चेतावनीसमेत दिइएको छ ।