
विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित संसदीय उपसमितिको म्याद १० दिन थपिएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको म्याद थप गरेको हो।
३५ दिनको समय पाएको उपसमितिले त्यस अवधिमा सहमति जुटाउन नसकेपछि थप १० दिनको समय पाएको हो । सहमति जुटाउनका लागि भन्दै उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय माग गरेका थिए ।
‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रस्तावलाई समितिले स्वीकृति गरेको छ, ’ सभापति अम्मरबहादुर थापाले भने, ‘३५ दिनको समयमा उपसमितिले रातदिन खटेर काम गरेको छ। थप गरिएको समयमा उपसमितिले काम सक्ने छ ।
सरकार र शिक्षकहरुबीच भएको सहमति अनुसार असार १५ सम्ममा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने छ । विद्यालय ऐन जारी गर्ने आश्वासनपछि नै शिक्षकहरुले करिब एक महिना लामो सडक आन्दोलन छाडेर स्कुल फर्केका हुन् ।